शान्तिपूर्ण प्रतिरोधको तागत कति ठूलो हुन्छ भन्ने एकपटक फेरि प्रमाणित भएको छ। सामाजिक अभियन्ता ईःले हामी सबैलाई त्यसको तागत सम्झाएका छन्।
ठेलागाडा, साइकल, नाङ्लो वा डोकोमा तरकारी, फलफूल लगायतका सामान बेच्दै हिँड्ने साना व्यापारीहरूलाई लखेटी–लखेटी धरपकड गर्ने र उनीहरूका सामान लुटेर लैजाने काठमाडौं महानगरपालिकाको अमानवीय हरकतविरूद्ध ईःले चुपचाप उभिएर प्रतिरोधको आवाज उराले।
राष्ट्रिय सभागृहको गेटबाहिर गोडा सुन्निने गरी १९९ घन्टा उभिएका ईःसँग काठमाडौं महानगरले बुधबार राति चारबुँदे सम्झौता गर्यो।
यो सम्झौताका दुइटा सकारात्मक पक्ष छन् —
पहिलो, सडक व्यापारीहरूका ठेलागाडा, साइकल, डोको र उनीहरूले बेच्न राखेका सामान जफत गर्नु गलत थियो भन्ने महानगरले पहिलोपटक स्वीकार गरेको छ। टेकुस्थित कबाडखानामा थुपारिएका ती सामान पहिचान गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ। महानगरको उक्त कार्य गैरकानुनी पनि थियो, किनभने कसैको सम्पत्ति यसरी जफत गर्न अदालतको आदेश चाहिन्छ।
दोस्रो, सडक व्यापार व्यवस्थापन निम्ति ठाउँ र समय यकिन गर्नुका साथै कानुनी प्रबन्धबारे अध्ययन गर्न महानगर राजी भएको छ।
मेयरको कुर्सी सम्हालेदेखि गरिब र निर्वाहमुखी सडक व्यापारीप्रति असहिष्णु व्यवहार देखाएका र हरेक दिनजसो ठेलावाला, साइकलवाला र डोकोवालादेखि ढाकीवालासम्मका सामान जफत गर्दै हिँडेका बालेन शाह यो सम्झौतासम्म आइपुग्नु सकारात्मक कुरा हो।
ईःको जबरजस्त शान्तिपूर्ण प्रतिरोध र उक्त प्रतिरोधले समाजका विभिन्न तहबाट पाएको समर्थनका कारण नै मेयर बालेन अन्तत: आफ्नो हठमा सम्झौता गर्न बाध्य भएका हुन्।
तर बाध्य भएर अर्काको समस्या सुन्नु एउटा कुरा, त्यसलाई हृदयबाटै अनुभूत गर्नु अर्को!
यहाँ बालेन शाहले ईःसँग सम्झौता त गरे, तर काठमाडौंको सामाजिक–आर्थिक जीवनमा सडक व्यापारको महत्व के हो र ती गरिब–निमुखा व्यापारीहरूलाई लखेटी–लखेटी धरपकड गर्नु कति अमानवीय र गैरकानुनी हो भन्ने चाहिँ उनले साँच्चै नै अनुभूत गरेको देखिँदैन।
उनले हृदयबाटै मनन् गरेका भए ईःसँग सम्झौता हुनुभन्दा केही घन्टाअघि मात्र ईःलाई नै सम्बोधन गर्दै सडक व्यापारबारे आफ्ना सातबुँदे धारणा सार्वजनिक गर्ने थिएनन्।
फेसबुकमार्फत सार्वजनिक गरिएका ती सात बुँदामा बालेनले सडक व्यापारलाई अनुमति दिन र ईःका माग पूरा गर्न नसकिने अडान दोहोर्याएका थिए। सडक व्यापारी हटाएर महानगरले नियम–कानुन पालना गरेको भन्दै त्यसमा अवरोध नपुर्याउन आग्रह गरेका थिए। ईःलाई आन्दोलन बन्द गरेर नियम–कानुन पालना गर्न अनुरोधसमेत गरेका थिए।
बालेनको यस्तो स्ट्याटससँगै काठमाडौं महानगरले सडक व्यापारीहरूप्रति कति सहानुभूति राखेर विकल्पहरू खोज्छ भन्ने प्रश्न जन्मिएको छ।
काठमाडौंमा सडक व्यापार व्यवस्थित गर्नुपर्ने आवश्यकता थिएन वा छैन भन्ने पक्कै होइन। कतिपय ठाउँमा सडक व्यापार धेरै नै लथालिंग बन्दै गएको र त्यसले सार्वजनिक आवागमनमा अवरोध सिर्जना गर्न थालेको थियो। सेतोपाटीमा हामी आफैंले यसबारे स्टोरीहरू लेखेका छौं।
तर तिनलाई व्यवस्थापन गर्नुको अर्थ सहरका कुनै पनि ठाउँमा र कुनै पनि समयमा व्यवसाय गर्न दिनु हुँदैन भन्ने पक्कै होइन।
साइकल, ठेला र अझ टाउकोमा पानीपुरी बोकेर हिँडेका निमुखा व्यवसायीहरूलाई समेत लछारपछार पार्नु, उनीहरूको सम्पत्ति जफत गर्नु, बाहिरबाट रोजगारी र जीवनयापनको सहारा खोज्दै काठमाडौं आएकाहरूलाई विस्थापित गराउनु पक्कै होइन।
यस्ता निर्वाहमुखी व्यवसाय निमिट्यान्न पार्नु पनि पक्कै होइन।
बाहिरबाट आएका धनी हुन् वा गरिब; काठमाडौं सहरले सदियौंदेखि उनीहरूलाई अपनाएको छ, उभिने ठाउँ दिएको छ। यही सौहार्द र सहभागितामूलक चरित्र नै काठमाडौं सहरको आत्मा हो। मेयर बालेन शाहले जानी-नजानी काठमाडौंको यो आत्मामाथि प्रहार गर्दै आएका छन्।
उनको यो कार्य महानगरका कैयन स्थानीयलाई पनि निको लागेको छैन। किनभने, उनीहरूले आफ्ना आमाबुबाबाट काठमाडौंबारे सुनेको र आफैंले भोगेको-देखेको काठमाडौंको चरित्र यो होइन, हुँदै होइन।
मैले वसन्तपुर नजिकै प्रत्यक्ष देखेको एउटा घटना सुनाउँछु।
केही महिनाअघि साँझपख मरू गणेशस्थाननिर दुई जना नगर प्रहरीसँग मेरो जम्काभेट भयो। ती नगर प्रहरी साइकलमा फलफूल बेचिरहेका सडक व्यापारीलाई पक्रिन आएका थिए।
नगर प्रहरीलाई देखेर एक जना बिक्रेता आफ्नो साइकलसहित यट्खातिर दौडिए। नगर प्रहरीहरू पछ्याउन थाले।
साइकल समातेर कुदेका ती बिक्रेता कति परसम्म भाग्न सक्थे र!
उनी फन्दामा परिहाले।
एक नगर प्रहरीले उनको पाखुरा च्याप्प समाते, अर्कोले उनको साइकलमाथि धावा बोले र फलफूल भुइँमा मिल्काउन तम्तयार भए।
बिक्रेताले दुई हात जोडे। भर्खर किनेर ल्याएको सामान नफाल्न बिन्ती गरे।
नगर प्रहरीहरूले अझ आक्रामक हुँदै उनलाई ठेलठाल पारे।
यहाँ अचम्म के भयो भने, नगर प्रहरीहरूले जसै ती निरीह व्यापारीका सामान मिल्काउन खोजे, वरपरका स्थानीय गुजुम्म भेला भए। उनीहरूले दुवै प्रहरीलाई घेरा हाले र बिक्रेताको पक्षमा बाझ्न थाले।
‘यिनीहरू सधैं यहीँ तरकारी–फलफूल बेच्छन्। हामी राम्ररी चिन्छौं,’ भीडमा एक जनाले भन्यो, ‘तिमीहरू अरू केही काम नपाएर यी बिचरा गरिखाने मान्छेलाई किन दुःख दिन्छौ?’
अर्को करायो, ‘यिनीहरूले सामान बेचेर कसलाई हानि भएको छ? कसको के बिगारिदिएको छ?’
तेस्रो व्यक्ति जंगियो, ‘तिमीहरू बालेनकै आदेशमा यिनीहरूलाई लखेट्न आएका हौ कि आफ्नो तुजुक देखाउन आएका हौ? बालेनले यस्तो आदेश दिए होलान् भन्ने हामीलाई लाग्दैन! बरू तिमीहरूको यस्तो हरकतले बालेनको बद्नाम भइरहेको छ!’
चौथोले भन्यो, ‘सक्छौ भने सडकमा पार्क गरिएका गाडी र बाइकहरू हटाएर देखाऊ। जथाभाबी पार्किङले सडक जाम भइरहेको छ, पैदलयात्रुलाई दुःख भइरहेको छ।’
स्थानीयको भीडले एकपछि अर्को आवाज उठाएपछि नगर प्रहरीहरू हच्किए र लत्रक्क परेर फिर्ता गए।
फलफूल बिक्रेताको सामान भुइँमा असरल्ल छरिनबाट जोगियो!
गरिबको रोजीरोटी खोसिनबाट बच्यो!
यस्तो घटना काठमाडौंका अन्य ठाउँमा पनि भएका छन्। कहीँ स्थानीय आफैं नगर प्रहरीको सामना गर्न ओर्लिएका छन् भने कहीँ नगर प्रहरी आउँदै छन् भन्ने सूचना दिएर सडक व्यापारीहरूलाई भगाएका छन्।
स्थानीयले गरेको यो हस्तक्षेपमा काठमाडौंको आत्मा झल्किन्छ। साथै, सहरी जीवनसँग सडक व्यापारको सम्बन्ध कति घनिष्ठ हुन्छ भन्ने पनि देखाउँछ। यो लेखमा म मूलत: त्यही सम्बन्धबारे चर्चा गर्दैछु।
काठमाडौं महानगरले प्रमुख रूपमा दुइटा तर्क गरेर सडकमा हुने सबै व्यवसाय निमिट्यान्न पार्न खोजेको छ। चाहे त्यो फुटपाथको छेउमा बसेर गरिने व्यापार होस् वा साइकल, ठेलामा राखेर विपन्नहरूले गर्ने निर्वाहमुखी व्यवसाय होस्!
उसको पहिलो तर्क हो, यसले फुटपाथमा हिँड्ने मानिसलाई ठूलो कष्ट दियो र सडकमा सवारी जाम बढायो।
दोस्रो, यसले पसल बहालमा लिएर, कर तिरेर व्यवसाय गर्नेहरूलाई ठूलो मर्का पार्यो; त्यस्तो व्यवसाय नै धराशायी बनायो।
मेयर बालेनले पनि आफ्नो स्ट्याटसमा लेखेका छन्, ‘भारत र चीनबाट ल्याइएका सामान फुटपाथमा बेच्न दिएर गरिबी निवारण हुन्छ भन्ने हामीलाई लाग्दैन। बरू यसले प्रणालीमा आबद्ध भएर सोही व्यवसाय गरिरहेकाहरूलाई धराशायी बनाउँछ।’
के बालेनका यी तर्क जायज छन्?
उनको पहिलो तर्कबाट सुरू गरौं — के साँच्चै काठमाडौंको सडक जाम साइकल, ठेला वा डोकोमा फलफूल, तरकारी लगायत सामान बेच्नेहरूकै कारण भएको हो? के साना–ठूला गाडी वा मोटरसाइकलहरूको यसमा कुनै हात छैन?
ठेला वा साइकलमा सामान बेच्नेहरूले सडक जाम भयो, पैदलयात्रुलाई असुविस्ता भयो भन्नेहरू आफैं कति पैदल हिँड्छन्, मलाई थाहा छैन। म चाहिँ प्रायः पैदलै हिँड्छु। पैदल हिँड्दा यी सडक व्यापारी मेरो बाटोमा आउँछन्, नआउने होइनन्। तर उनीहरूलाई छलेर, दायाँबायाँबाट आफ्नो बाटो निकाल्न मलाई कहिल्यै गाह्रो भएको छैन। सडकमा थोरै संख्यामा साइकल वा ठेला आए पनि तिनले मानिस वा सवारीलाई ठूलो अवरोध पुर्याएको मैले कहिल्यै देखेको छैन।
सोच्नुहोस् त, अहिलेसम्म सडक व्यापारीका साइकल वा ठेलाले गराएका कतिवटा जाममा तपाईं फस्नुभएको छ?
तपाईंको अनुभवमा दुईपांग्रे, चारपांग्रे वा ठूला सवारीका कारण सडक धेरै जाम हुन्छ कि साइकल वा भित्री सडकमा आक्कलझुक्कल आउने ठेलाका कारण?
अनि सडकमा हिँड्दा फलफूल बोकेका साइकल वा टाउकामा पानीपुरी बेच्नेहरूका कारण तपाईं कतिपटक अल्झिनुभएको छ? तपाईंलाई कतिपटक त्यसले अप्ठ्यारो पारेको छ?
अब फेरि सोच्नुहोस् त, फुटपाथमा जथाभाबी पार्क गरिएका वा सडकमा जथाभाबी हुइँक्याउने साना–ठूला गाडी वा मोटरसाइकलले तपाईंलाई बाटोमा हिँड्न कतिचोटि अप्ठ्यारो पर्यो?
मेरो अनुभवमा सडक व्यापारीभन्दा बढ्ता हाम्रो बाटो छेक्ने भनेका यहाँ जथाभाबी कुद्ने र जथाभाबी पार्क गरिएका मोटरसाइकल र गाडीहरू हुन्। सडक जाममा पर्ने भनेकै ठूला गाडी, साना गाडी र मोटरसाइकलले सडक भरिभराउ भएर हो। काठमाडौंवासीले दैनिक हैरानी बेहोर्ने भनेको तिनकै घुइँचो र प्याँप्याँ पुँपुँले हो।
हामी यो पनि नबिर्सौं, यसरी सडक जाम गर्ने र जाममा परेका कैयन चारपांग्रे सवारीले मानिस मात्र बोकेका हुँदैनन्। तीमध्ये कैयनले व्यापारीका वा पसलेका सामान बोकेका हुन्छन्। कैयन मोटरसाइकल अनलाइन व्यवसाय गर्नेहरूका सामान र रेस्टुरेन्टका परिकार बोकेर अर्डर गर्ने मानिसका घर पुर्याउन हिँडेका हुन्छन्।
अब भन्नुहोस् त, व्यापारीका सामान बोकेर ठूलो संख्यामा गाडी हुइँक्याउन पाइने, रेस्टुरेन्टका परिकार ढुवानी गर्ने हजारौं मोटरसाइकल हाँक्न पाइने, अनि त्यही सडकको कुनामा फलफूल वा तरकारी बोकेर त्योभन्दा सानो संख्यामा साइकल कुदाउन नपाइने? यो कहाँको सामाजिक न्याय हो?
तरकारी बेच्ने ठेला बिस्तारै हिँड्ने भएकाले सडक जाम गर्न सक्छ भन्ने तर्क पनि उठ्ला। तर के यो तर्क जायज हो?
पहिलो कुरा त, सडक व्यापारीका ठेला वा साइकल मूल सडकमा बिरलै निस्किन्छन्। ती प्रायः भित्री सडकमा र सीमित क्षेत्रमा मात्र घुम्छन्। भित्री सडकमा पनि तिनले बिरलै जाम गर्छन्। किनभने, यस्ता ठेलाको संख्या अति थोरै हुन्छ।
के तपाईंले दरबारमार्ग, न्यूरोड वा बानेश्वरको मूल सडक ठेला वा साइकलले जाम भएको देख्नुभएको छ? त्रिपुरेश्वर, थापाथली वा लाजिम्पाटको मूल सडकमा तरकारी बेच्ने साइकलले गाडीको रफ्तार धीमा भएको देख्नुभएको छ?
छैन भने मेयर बालेन शाहले ठेलागाडा र साइकलहरूले सडकको अधिकार हनन् भयो भनेर कसरी भन्न सक्छन्?
अर्को कुरा, अहिले जुन–जुन ठाउँमा महानगरको धरपकड चल्दैछ, ती मूल सडक होइनन्। मूल सडकबाट छुट्टिने भित्री बस्तीका बाटाहरू हुन्, जुन प्रायः आवासीय क्षेत्रमा पर्छ। त्यहाँ सडक व्यापारले पैदलयात्रुलाई गाह्रो होइन, बरू वरपरका स्थानीयलाई किनमेल गर्न सजिलो बनाएको छ।
बेच्नै नसकिने, ग्राहक आउँदै नआउने दरबारमार्गजस्तो ठाउँमा कसले ठेला चलाउँछ? कसले डोकोमा तरकारी बेच्छ?
युरोपका धेरै देशमा भएका अध्ययनले जामको मुख्य कारण चारपांग्रे सवारी साधन हो भन्ने देखाएका छन्। एउटा कारले पाँच-सात वटासम्म साइकल हिँड्ने ठाउँ ओगट्छ। त्यसैले जाम कम गर्न युरोपका कैयन सहरले कतिपय मुख्य ठाउँमा गाडी प्रतिबन्ध लगाएर साइकललाई मात्र खुला गरेका छन्। तर देश–दुनियाँ घुमेका हाम्रा मेयर तिनै साइकल देखी सहँदैनन्, तिनै ठेला देखी सहँदैनन्!
हुँदाहुँदा महानगरको ज्यादती साइकल वा ठेलाबाट अघि बढेर टाउकोमा पानीपुरी बोकेर हिँड्नेमा समेत पुगेको छ।
टाउकोमा पानीपुरी बेच्न हिँडेकाहरूलाई नगर प्रहरीले लछारपछार पारेको र उनीहरूका सामान सडकमा छताछुल्ल पोखिदिएको थुप्रै भिडिओ हामीले देखेका छौं। यो त पैदलयात्रु र सडक जामका नाममा गरिब र निमुखाहरूमाथि गरिएको हदैसम्मको अमानवीय व्यवहार भएन र?
जहाँसम्म पैदलयात्रुलाई हिँड्न असुविधा हुने कुरा छ, अहिले पनि काठमाडौंका अधिकांश मूल सडकमा फुटपाथ दुरूस्त छैनन्। धेरैजसो ठाउँमा पैदलयात्रुहरू सडकमै गाडीसँग सराबरी हिँड्न बाध्य छन्। त्यसैले पैदल हिँड्नेहरूका लागि साइकल र ठेलागाडाभन्दा पैदलमार्ग नै नहुनु सबभन्दा ठूलो समस्या हो।
सडकका दायाँबायाँ पार्किङमा राखिएका गाडीले आफ्नो हिस्साको बाटोधरि खाइदिनु पैदलयात्रुहरूको अर्को ठूलो समस्या हो।
सडक किनारका पसलहरूले फुटपाथ मिचेर भर्याङ हाल्नुले पनि पैदलयात्रुहरूलाई हिँड्न असुविधा पारेकै छ।
अब बालेन शाहको दोस्रो तर्क हेरौं।
अनौपचारिक रूपमा व्यवसाय गर्ने सडक बिक्रेताका कारण कर तिरेर पसल चलाइरहेका व्यवसायीको कारोबार धराशायी हुने तर्क उनले गरेका छन्। खासमा महानगरले साइकल, ठेला वा टाउकोमा राखेर सामान बेच्नेलाई कारबाही गर्नुको एउटा मुख्य कारण स-साना पसलेले वडा र महानगरमा गरेको उजुरी नै हो।
बालेनले आफ्नो सातबुँदेमा पनि पछिल्लो एक वर्षमा काठमाडौं महानगरको कल-सेन्टरमा आएका २० प्रतिशतभन्दा बढी गुनासो फुटपाथ व्यापार हटाउनेसँग सम्बन्धित छन् भनेर स्वीकार गरेका छन्। फुटपाथ व्यवसाय हटाउन अहिलेसम्म करिब हजारवटा गुनासो आएको उनले भनेका छन्।
ती गुनासो गर्नेहरू पक्कै तिनै पसले हुन्। उनीहरू भन्ने गर्छन् — हामी पसलको बहाल तिर्छौं, महानगरलाई कर तिर्छौं। साइकलवालाहरू बहाल पनि तिर्दैनन्, कर पनि तिर्दैनन्। अनि हाम्रै अगाडि आएर सस्तोमा बेच्छन्।
महानगरले उनीहरूकै उजुरी सुन्ने गरेको छ। साइकल वा ठेलामा सामान बेच्नेहरूलाई कारबाही गर्नुको प्रमुख कारण यही हो।
यहाँ महानगरले के बिर्सेको छ भने, काठमाडौं जति सटर भाडामा लिएर पसल चलाउनेहरूको हो, त्यति नै साइकल वा ठेलामा तरकारी बेच्नेहरूको पनि हो।
ठुल्ठूला डिपार्टमेन्ट स्टोरका साहुको निम्ति यो सहर जे हो, थोक तथा खुद्रा बिक्रेता र साइकल तथा ठेलावालाका निम्ति पनि यो सहर त्यही हो।
काठमाडौं सबैका लागि समान हो र समान नै हुनुपर्छ।
अरू सबैलाई आ-आफ्नो व्यवसाय गर्ने छुट दिएर साइकल वा ठेलावालाको जीविकोपार्जनको बाटो खोस्ने, सम्पत्तिका नाममा उनीहरूसँग भएको साइकल जफत गर्ने अधिकार महानगरलाई छैन।
बालेनले जुन औपचारिक कारोबारको दुहाई दिँदै सडक व्यवसाय हटाउने कुरा गरेका छन्, खासमा उनको जिम्मेवारी त्यही सडक व्यवसाय व्यवस्थापनमा बढी हुनुपर्छ। किनभने, रोजीरोटी निम्ति दैनिक संघर्ष गर्ने गरिब निमुखाहरूप्रति राज्यको जिम्मेवारी अधिक हुन्छ।
दैनिकी चलाउन कठिन हुने निर्वाहमुखीहरूलाई कुनै पनि सभ्य राज्यले अलपत्र छाड्दैन। उनीहरूको दुःख सरकारले बुझ्नुपर्छ। महानगर भनेको पनि सबभन्दा तल्लो तहको सरकार नै हो। त्यसैले निमुखाहरूको जीवनयापन सहज बनाउनु र उनीहरूलाई गरिखाने वातावरण दिने पहिलो चरणको काम महानगरबाटै हुनुपर्छ।
बालेन शाह भने आफ्नै दायित्वमा पर्ने कामबाट पन्छिन खोजिरहेका छन्। उल्टो आफ्नो गुजारा चलाउन साइकलमा तरकारी र फलफूल बेच्नेहरूको हक खोसिरहेका छन्। ठूला व्यापारीहरूको लाभका निम्ति सानालाई विस्थापित हुने अवस्थामा पुर्याइरहेका छन्।
यहाँनिर हामीले सहरको अर्थतन्त्रलाई पनि ध्यान दिनुपर्ने हुन्छ।
कुनै पनि सहरमा दुई किसिमको अर्थतन्त्र समानान्तर रूपले चलिरहेको हुन्छ — एउटा समृद्ध वर्गको अर्थतन्त्र जो ठुल्ठूला मल र डिपार्टमेन्ट स्टोरमा किनमेल गर्छ। अर्को, न्यूनमध्यम वर्ग र गरिबहरूको अर्थतन्त्र जसको उपभोग्य आवश्यकता सडक व्यापारीहरूले सस्तोमा पूर्ति गर्छन्। उनीहरूको ठेला खोसेर, उनीहरूलाई रोजगारविहीन बनाएर महानगरले उनीहरूको पेटमा मात्र होइन, काठमाडौंमा बसोबास गर्ने तमाम न्यूनमध्यम वर्ग र गरिबहरूको जीवनमा धावा बोल्दैछ।
एकछिन यी सडक व्यापारीहरूप्रति कुनै पूर्वाग्रह नराखी कल्पना गर्नुहोस् त — कस्तो होला हाम्रो काठमाडौं सहर, यदि यहाँ महानगरले भनेजस्तो एउटा पनि सडक व्यापारी रहेन भने?
कस्तो होला हाम्रो काठमाडौं सहर, यदि हाम्रो घर र टोल छेउछाउ फलफूल, तरकारी, भाँडाबर्तन, लत्ताकपडा र शृंगारका खिद्रीमिद्री सामान बेच्ने ठेलावाला, नाङ्लोवाला व्यापारी आउन छाडे भने?
त्यो अवस्थामा हुनेखानेले त ठुल्ठूला मलमा गएर सपिङ गर्लान् तर सर्वसाधारण नागरिकले किनमेल गर्ने कहाँ?
उनीहरूले सस्ता लत्ताकपडा, सस्ता फलफूल, तरकारी र अन्य विभिन्न किसिमका सस्ता सामान खोजी हिँड्ने कहाँ?
यसलाई अर्को कोणबाट पनि हेरौं।
यी सडक व्यापारीहरू, जो दिनभरि सडक किनार ठेला चलाएर, हामीलाई सस्तो सामान उपलब्ध गराएर आफ्नो गुजारा चलाउँछन्, यी कहाँ बस्छन्? यिनको थातथलो कहाँ छ? के यिनीहरू हरेक दिन गाउँबाट व्यापार गर्न काठमाडौं आउने हुन्? कि यतै बस्छन्?
यिनीहरू सबै काठमाडौंकै बसोबासी हुन्। काठमाडौंका विभिन्न ठाउँमा डेरा लिएर सपरिवार बस्छन्। यिनका केटाकेटी यतैका स्कुलमा पढ्छन्। खासगरी काठमाडौं कोर–सिटीका पुराना घरहरूमा सस्तो भाडा तिरेर यस्ता व्यापारीहरू ठूलो संख्यामा बस्ने गरेको हामी पाउँछौं।
मेयर बालेन शाहले भनेजस्तै यी साना व्यापारीलाई उनीहरूको ठेला, साइकल र डोको खोसेर रोजगारविहीन बनाउने हो भने उनीहरू पक्कै पनि महिनाको चार–पाँच हजार भाडा तिरेर काठमाडौंमा बस्न सक्दैनन्। आफ्ना केटाकेटी पढाउन सक्दैनन्। यसले रोजीरोटीको खोजीमा काठमाडौं पसेको परिवारको सपना त मर्छ नै, सँगसँगै काठमाडौंमै घर भएका र ती सडक व्यापारीलाई भाडामा राखिरहेका परिवारको जीवनयापनमा पनि असर पर्छ। उनीहरूको कमाइ घट्छ, कमाइ घटेपछि उपभोग घट्छ, खर्च पनि घट्छ।
र, अन्ततः काठमाडौंको अर्थतन्त्र नै डामाडोल हुन्छ।
त्यसैले, काठमाडौंजस्तो गाउँ–सहर, धनी–गरिब मिलेर बनेको मिश्रित समाजबाट गाउँलेहरूलाई पन्छाउनु, गरिबहरूलाई हटाउनु भनेको सिंगो सहरकै भविष्य सखाप पार्नु हो — काठमाडौंकै भविष्य सखाप पार्नु हो।
के मेयर बालेन शाहले कल्पना गरेको सहर यस्तै हो?
बालेन शाहले आफ्नो सातबुँदेमा सडक व्यापारलाई गैरकानुनी भनेका छन्। तर के ती सडक व्यवसायीको सामान जफत गर्नु, उनीहरूको ठेला वा साइकल खोसेर लैजानु चाहिँ कानुनी काम हो?
अदालतले आदेश दिएको अवस्थामा बाहेक राज्यले कसैको पनि सम्पत्ति सिधै जफत गर्न पाउँदैन। महानगरलाई त झन् कुनै पनि कानुनले यसरी व्यक्तिको सम्पत्ति ठाडै जफत गर्ने अधिकार दिएकै छैन। जसरी मोटर वा मोटरसाइकलले नियम मिचेका भरमा ती साधन जफत गर्न पाइँदैन, त्यसरी नै साइकल वा ठेला जफत गर्नु पनि गैरकानुनी हो।
ट्राफिक प्रहरीले नियम मिचेका गाडी वा मोटरसाइकललाई जरिवाना तिराएजस्तै महानगरले पनि गर्न सक्ने भनेको त्यति मात्र हो। यहाँ भने नगर प्रहरीहरूले पछिल्लो एक वर्षदेखि बिना रसिद सर्वसाधारणको सम्पत्ति जफत गरिरहेका छन्।
सबभन्दा दुःखको कुरा त, सहरका गल्ली–गल्ली, सडक–सडकमा सेनाको फौजजस्तो गुटुटुटु दौडँदै सडक व्यापारीलाई लखेट्न, छुद्र बचन प्रयोग गर्दै हप्कीदप्की लाउन, उनीहरूसँग घम्साघम्सी र धकेलाधकेल गर्न र ती गरिब व्यापारीका सरसामान सडकमा मिल्काउन, खोसेर लैजान काठमाडौंको जननिर्वाचित स्थानीय सरकारले नै नगर प्रहरीहरूलाई खुला छुट दिइरहेको छ।
स्थानीय नागरिकसँग सहकार्य र सहभागितामूलक ढंगले काम गर्ने भनी नगर प्रहरीको परिकल्पना गरिएको हो। त्यसैले उनीहरूलाई हतियारका नाममा लठ्ठीबाहेक अरू केही दिइएको छैन। तर तिनै नगर प्रहरी अहिले नागरिकसँग यति रूखो लवजमा बोलिरहेका सुनिन्छन्, त्यति रूखो बोली त जनपद वा ट्राफिक प्रहरीको पनि कहिल्यै सुनिएको थिएन।
बालेनले नबुझेको कुरा के हो भने, यहाँ आजीवन सडकमै व्यापार गर्छु भनेर कोही आउँदैन। प्रचण्ड गर्मी, घनघोर वर्षा र ठिहिरो चिसो खपी-खपी जीवनभर सडकमै सामान राख्छु भनेर कसैले सोच्दैन। आर्थिक क्षमताले भ्याउने भए उनीहरूले सटर भाडामा लिइसकेका हुन्थे। त्यसैले नगर प्रहरीले जति खेदे पनि, लछारपछार पारे पनि, उनीहरूको ठेला खोसे पनि, तरकारीको नाङ्लो हुत्याइदिए पनि सडकमा संघर्ष गरेर जीवन निर्वाह गर्नेहरू कहीँ जाने छैनन्। उनीहरूको जाने ठाउँ नै कहीँ छैन। बाँच्ने अर्को ठाउँ छैन, आधार पनि छैन।
उनीहरू लुकेर-छेलिएर व्यवसाय गर्लान्, प्रहरी आउलान् कि भनेर आँखा तन्काउलान्, कान ठाडा पार्लान् तर भागेर कतै जाँदैनन्। महानगरको यो धरपकडले उनीहरूको थाप्लोमा दुःख र हैरानी मात्र थप्ने हो, समस्या समाधान गर्ने होइन।
जुन दिन जीवन धान्ने अर्को ठाउँ, अर्को उपाय उनीहरूले पाउलान् वा बनाउलान्, त्यस दिन उनीहरू आफैं सडकबाट हट्ने छन्। त्यो बेलासम्म काठमाडौं महानगरले जीवन बाँच्ने आधार नखोसिदिओस् भन्ने मात्र उनीहरू चाहन्छन्। यसका लागि उनीहरूले ठूलो कुरा केही चाहेका छन्, स्वयं बालेन शाहले चुनावअघि गरेका प्रतिबद्धता पूरा गरिदिऊन् भन्ने उनीहरूको मनसाय छ।
हुन त बालेनले सातबुँदे धारणामा आफूले ‘चुनावी एजेन्डा नबिर्सिएको’ र ‘काठमाडौं महानगर सधैं गरिबको पक्षमा बोल्ने’ दाबी गरेका छन्। तर उनको दाबी उनको गतिविधिसँग मेल खाँदैन।
उनले चुनावअघि एक अन्तर्वार्तामा भनेका थिए, ‘नगर प्रहरीको काम व्यवस्थापन गर्नु हो। कसैको सामान फाल्दिने होइन। मेयरको काम पनि यस्तो (सडक) व्यापारका लागि सीमित क्षेत्र घोषणा गर्ने हो। फुटपाथ बाहेकका क्षेत्रमा बिहानको साढे ५ बजेदेखि साढे ७ वा बेलुकीको कुनै निश्चित समय तोक्ने हो … यस्तो काम ललितपुरमा भइरहेको छ। काठमाडौंमा गर्न बाँकी छ। यो एकदमै ठूलो समस्या होइन। सजिलै व्यवस्थापन गर्न सकिने कुरा हो।’
त्यही अन्तर्वार्तामा उनले नगर प्रहरीहरूबाट सडक व्यापारीमाथि धरपकड हुनु, उनीहरूका सामान खोसिनु, नाङ्लो वा साइकल हुत्याइनुलाई गलत भनेका छन्।
‘त्यसो गर्नु हुँदैन,’ उनी भन्छन्, ‘हामीले सडक व्यापार व्यवस्थित गर्न ४५–५० वटा ठाउँ हेरेका छौं। अहिले पनि महानगरले गलत रूपमा भाडामा दिएको, सस्तो भाडामा दिएको, आफन्तवादअनुसार भाडा लगाएका ठाउँमा यस्ता तरकारी व्यापारी वा नाङ्लो व्यापारीलाई राख्न सकिन्छ। समय तोकेर पनि व्यवस्थापन गर्न सकिन्छ।’
उनी अगाडि भन्छन्, ‘महानगरबाट अनुगमन गर्ने, सिसिटिभी राख्ने, व्यापार गरिसकेपछि फोहोर आफैं सफा गर्न लगाउने र सबै कुरा सिस्टममा ल्याएपछि ५०–१०० रूपैयाँ कर पनि उठाउन सकिन्छ। यसरी सडक व्यापार व्यवस्थित गरेर त्यसबाट उठ्ने करले सडक व्यापारीहरूलाई नै सुविधा दिन सकिन्छ।’
बालेनले चुनावअघि भनेका यी कुरा एकदमै सही हुन्। हामीले भन्दै आएको र सडक व्यापारीहरूले चाहेको पनि यही हो।
उनले अन्तर्वार्तामा भनेजस्तै ललितपुर महानगरले अहिले पनि सडक व्यापारलाई निषेध गरेको छैन, बरू निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्दै आएको छ। त्यहाँ कुन कुन ठाउँमा कति बेला सडक व्यापार गर्न पाइने भनेर यकिन गरिएको छ। फुटपाथ मात्र होइन, खुला स्थानमा पनि व्यापार-व्यवसाय गर्न समय तोकिएको छ।
कसैले तोकिएको स्थान वा समयभन्दा बाहिर सामान बेचेको फेला परे त्यहाँ पनि नगर प्रहरीहरू हटाउन आउँछन्। तर काठमाडौंका नगर प्रहरीले जस्तो उनीहरू ठेला, साइकल र सरसामग्री जफत गर्दैनन्, व्यापारीहरूलाई नै फिर्ता गर्छन्।
भक्तपुर लगायत उपत्यकाका अन्य नगरपालिकाहरूले पनि यस्तै गर्दै आएका छन्।
उपत्यकाकै अन्य स्थानीय सरकारले सडक व्यापार व्यवस्थित गर्न सक्छन् भने काठमाडौंले मात्र नसक्ने भन्ने हुँदैन। उपत्यकाकै अन्य ठाउँमा सडक व्यापार मजाले चल्न सक्छ भने काठमाडौंको मेयरका लागि मात्र गैरकानुनी कसरी हुन्छ?
यदि त्यो गैरकानुनी हो भने के काठमाडौंमा सदियौंदेखि गैरकानुनी काम भइरहेको थियो भनेर बालेनले भन्न खोजेका हुन्!
काठमाडौंको मात्र के कुरा, संसारका जुनसुकै देशमा सडक व्यापार गुलजार छ। युरोपेली देशहरूले त कतिपय मुख्य सडकहरूमा गाडी आवागमन बन्द गराएर पनि बजार लगाउने गरेका प्रशस्तै उदाहरण छन्। यसले आर्थिक तथा सामाजिक गतिविधि बढाएको त्यहाँको अनुभवले देखाएको छ।
भारतीय पत्रकार रविशकुमारले केही समयअघि बेलायतको लन्डनमा रहेको त्यस्तै सडक व्यापारबारे एउटा भिडिओ रिपोर्ट तयार पारेका थिए र त्यसबाट भारत सरकारले सिक्नुपर्ने बताएका थिए। रविशकुमारको त्यो भिडिओ रिपोर्टबाट बालेनले पनि सडक व्यापार व्यवस्थापनबारे धेरै कुरा सिक्न सक्छन्।
बालेनले जुन सडक व्यापारलाई गैरकानुनी भन्दै बन्द गराउन खोजिरहेका छन्, त्योसँग काठमाडौंको इतिहास जोडिएको छ। यो आजको होइन, हिजोको होइन, लिच्छविकालदेखि चल्दै आएको परम्परा हो।
लिच्छविकालमा काठमाडौं सहरको ढाँचा तयार पार्दा नै मूल सडक र सहायक सडकहरू खप्टाएर चौबाटो चोकहरू निर्माण गरिएका थिए। एउटा चोकबाट अर्कोसम्मको दुरी लगभग समान हुन्थ्यो। भित्री काठमाडौंमा यस्ता संरचना अहिले पनि देखिन्छन्। त्यस्ता चोकमा स्थानीयहरूको मूल देउता हुन्थ्यो। सँगसँगै पाटी हुन्थ्यो। मान्छे त्यहाँ आराम गर्थे। सानोतिनो व्यापार गर्थे। सामाजिक जमघट पनि हुन्थ्यो।
मल्लकालसम्म आइपुग्दा यो संरचना अझ ठूलो भयो। मूल सडकहरू फराकिला पारिए र खुला सार्वजनिक संरचनाहरू निर्माण गरिए। तीमध्ये वसन्तपुर दरबार स्क्वायर सबभन्दा ठूलो छ। यहाँ भित्री सहरका सबैजसो साना–ठूला सडकको मोहडा खुल्छ। मुख्य जात्रा सबै यही डबलीमा हुन्थे। प्रशासनिकदेखि सांस्कृतिक काममा समेत डबली प्रयोग हुन्थ्यो। राज्यभरिका मान्छे जमघट हुने ठाउँ यही थियो। पाटन र भक्तपुर दरबार स्क्वायरमा पनि यस्तै शैली देखिन्छ।
दरबार स्क्वायरपछि दोस्रो तहको खुला संरचनामा इन्द्रचोक, असन, क्षत्रपाटी, जैसीदेवलजस्ता चोक पर्छन्। यी मल्लकालीन ‘मार्केट स्क्वायर’ हुन्, जहाँ किनबेच हुन्छ। इन्द्रचोक, असन अहिले पनि प्रमुख बजारमै पर्छन्। यहाँ दुई–तीन सय वर्ष पुराना पसल छन्।
काठमाडौंका पुराना फोटो र पेन्टिङ हेर्ने हो भने पनि काष्ठमण्डपदेखि, असन, इन्द्रचोक र अन्य सडक–गल्लीमा हुर्केको परम्परागत खुला बजार संस्कृतिको झलक पाइन्छ। काठमाडौंले कसरी सदियौंदेखि सडक व्यापारलाई समाजको अभिन्न हिस्साका रूपमा स्वीकार गर्दै आएको छ भन्ने त्यसले देखाउँछ।
उदाहरणका लागि, हेनरी ओल्डफिल्डले सन् १८५०–१८६० दशकमा बनाएको पेन्टिङमा काष्ठमण्डप अगाडि खुला तरकारी बजार चलेको देखिन्छ। इन्द्रचोकको आकाशभैरव अगाडि बिक्रम सम्बत् २०१६ सालमा खिचिएको तस्बिरले पनि त्यस्तै देखाउँछ। काठमाडौंको समावेशी चरित्र झल्काउने यस्ता तस्बिर इन्टरनेटमा प्रशस्तै पाइन्छन्।
यसले देखाउँछ — काठमाडौं सभ्यताको दुई हजार वर्ष यात्रामा सहर बदलिए पनि संस्कृति बदलिएको छैन। बाहिरी आवरणमा आधुनिकताको लेप लागे पनि भित्री तहमा काठमाडौं सभ्यता जिउँदै छ।
बालेन शाहको सडक व्यापारमुक्त अभियानले काठमाडौंको यही आत्मा मार्दैछ।
सहर भनेको चिल्ला सडक र अग्ला घर मात्र होइन। सहर भनेको ठुल्ठूला डिपार्टमेन्ट स्टोर वा कम्प्लेक्स मात्र पनि होइन।
सहर भनेको भरोसा हो। यस्तो भरोसा, जुन देशभरिका जुनसुकै तह वा तप्काका नागरिकले महसुस गर्छन्।
उनीहरूले गाउँमा विपद पर्यो, उब्जनी भएन, बालबच्चा पढाउन सकिएन भने सहर जान्छु र गरिखाने मेलो खोज्छु भन्ने सपना देखेका हुन्छन्। जीविकाको कुनै उपाय लागेन भने सहरले हाम्रो परिवारलाई मर्न दिँदैन, सहरले हाम्रा बालबच्चालाई भोकै राख्दैन, हाम्रा केटाकेटीलाई निरक्षर बनाउँदैन भन्ने विश्वास साँचेका हुन्छन्।
नेपालका हकमा जुनसुकै आर्थिक–सामाजिक स्तरका नागरिकका लागि जीविकाको भरोसा बनेको त्यो सहर काठमाडौं हो।
काठमाडौंले हामीलाई सहारा दिन्छ, हाम्रो भोकको ज्वाला शान्त पार्न मद्दत गर्छ, हाम्रा केटाकेटीलाई पढ्ने–लेख्ने, हुर्कने–बढ्ने वातावरण दिन्छ र हामीलाई गरिखान कुनै रोकतोक गर्दैन भन्ने आसमा धेरै नेपाली नागढुंगा नाघेर काठमाडौं छिर्छन्। ती गरिबहरूलाई यहाँ गरिखाने बाटो नदिने र फेरि नागढुंगा काटेर गाउँ फर्किन बाध्य पार्ने हक बालेन शाह र उनको टिमलाई छैन।
हिमाल होस् या पहाड–मधेस, देशी होस् या विदेशी, सबैलाई सहारा दिनु, सबैलाई आफ्नो भूमिमा स्वागत गर्नु, स्वीकार गर्नु र सबैलाई यहाँको सभ्यता र संस्कृतिमा घुलमिल गराउनु काठमाडौंको सदियौंदेखिको परम्परा हो।
यो यस्तो सहर हो, जसले सधैं सबैलाई आत्मसम्मानपूर्वक बाँच्ने आधार दियो। जसले सधैं सबैलाई अपनायो। जहाँ सबै आए र यहीँका भए, कसैले पनि बाँच्न नपाएर यहाँबाट फर्किनुपरेन।
यही नै काठमाडौंको आत्मा हो।
मेयर बालेन शाहले ‘परपीडक’ शैली अपनाउँदै काठमाडौंमा जीविका गरिरहेका गरिबहरूलाई रूवाएर काठमाडौंको आत्मा नमारून्!
काठमाडौंको सौहार्द, समावेशी र सहभागितामूलक सभ्यता नमारून्!
ई:ले गरेको शान्तिपूर्ण विद्रोहले काठमाडौं सहरको यो आत्मा र सभ्यता जोगाइराख्ने अवसर दिएको छ। मेयर बालेन र काठमाडौं महानगरले बिना हठ यो अवसर सदुपयोग गरोस्!
प्रतिक्रिया
Array